जनकपुरधाम, साउन १७ गते । सामाजिक बहिष्कारका कारण आइसोलेशनबाट घर फर्केका धनुषाका एक व्यक्ति आत्महत्या गरेका छन ।
धनुषाको मिथिला बिहारी नगरपालिका २ पुरन्दहा बस्ने विशेश्वर यादव कोरोना संक्रमित भएपछि जनकपुर स्थित प्रादेशिक कोभिड अस्पतालको आइसोलेशनबाट घर फर्केको १० दिनपछि पारिवारिक र सामाजिक बहिष्कार कारण आत्महत्या गरेका हुन ।
एक स्थानीयका अनुसार भारतको राजस्थान राज्यस्थित जोधपुरमा रोजगारी गर्दै आइरहेका विशेश्वर कोरोना संक्रमणबाट जोगिन घर फर्केका थिए । सीमामा आइसकेपछि नगरपालिकाद्वारा परशुराम तलावस्थित विद्यालयमा सञ्चालित क्वारेन्टाइनमा राखियो ।
करिब १४ दिनपछि पिसिआर परीक्षण हुँदा विशेश्वरलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालको आइसोलेशनमा राखियो । तर १० नपुग्दै उनलाई पुनः पीसीआर परिक्षण नगर्दै होम आइसोलेशनमा बस्न भनी घर फर्काइयो ।
घर पुगेपछि उनलाई समाज र परिवारले अव्हेलना र तिरस्कारको दृष्टिकोणले हेर्दै आएको र घरमा समेत बस्न नदिई बाहिरै राखेर अछुत जस्तै व्यवहार सहन नसकेपछि शुक्रबार साँझ क्वारेन्टाइनस्थलको छेउमै रहेको रुखमा उनी झुन्डिएर आत्महत्या गर्न पुगेको भन्ने कुरा स्थानीय रोहित कुमार महतोले समाजिक सञ्जालमा लेखेर दाबी गरेका छन ।
समाजिक रुपमा तिरस्कृत भइरहँदा विशेश्वरले पिसिआर जाँच गराइदिन नगरपालिकाका मेयरलाई समेत पटक पटक आग्रह गर्दै आएका थिए तर, पिसिआर जाँच नभएपछि उनले आत्महत्या गर्न बाध्य भएको नाम नछाप्ने शर्तमा एक स्थानीयले भने ।
मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादवले कोरोना संक्रमण पुष्टि भइसकेपछि मानसिक दबाबमा आएका कारण विशेश्वरले आत्महत्या गरेको हुनसक्ने बताएका छन ।
‘आइसोलेसनबाट फर्किएपछि विशेश्वर घर बाहिरै बस्थ्यो, खाना पनि छुट्टै खाने गरेका थिए,’ मेयर यादवले भने, ‘शुक्रबार पिसिआर जाँच गराइदिन मलाई भनेको थियो, मैले डाक्टरसँग कुरा पनि गरेको थिएँ । तर, साँझ उसले आत्महत्या गरेको थाहा पाउंदा दुख लागेको छ ।
प्रादेशिक अस्पतालस्थित कोभिडका संयोजक डा. जामुन सिंह १० दिनसम्म कुनै लक्षण नदेखिएपछि विशेश्वरलाई होम आइसोलेसनमा बस्न सुझाव दिँदै घर पठाइएको बताएका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन । उनले ‘घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन, मृतक आइसोलेसनबाट फर्केको बुझिएको छ,’ उनले भने, ‘वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !