जनकपुरधाम, साउन १६ गते । बढदै गएको कोरोना भाइरसको संक्रमणको दृष्टिगत गर्दै महोत्तरीको जलेश्वर नगरपालिकापछि जिल्ला प्रशासन कार्यालय र अदालत समेतले आफ्ना सबै सेवा बन्द गरेको छ ।
दुवै कार्यालयले एक सूचना जारी गरी साउन १६ गते शुक्रवारदेखि अत्यावश्यक सेवा बाहेक आफ्ना सबै बन्द गरिएको जनाएको छ । रेडजोनमा रहेको प्रदेश २ को महोत्तरीमा समेत केही दिनदेखि बढदै गएको संक्रमितको संख्याले झन खतरा बढन सक्ने दृष्टिगत गर्दै सेवाहरु बन्द गरेका हुन ।
जिल्ला अदालतले अत्यावश्यक सेवा बाहेक म्याद थप, पक्राउ पुर्जी जारी गर्ने अनुमति, जरुरी पुर्जीको सर्मथन सम्बन्धी, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमको निवेदन सम्बन्धी कार्य बन्द गरिएको सूचनामा भनिएको छ ।
त्यसैगरी बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सो सम्बन्धी अन्य कार्य, सरकारवादी फौजदारी मुद्दा दर्ता र थुनछेक सम्बन्धी कार्य तथा घेरलु हिंसा सम्बन्धी निवेदन दर्ता र कारवाही सहितका कार्य समेत बन्द गरिएको जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरी जारी गरेको सूचनामा यस कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य प्रत्यक्ष रुपमा प्रदान गर्ने सेवाहरु निषेधाज्ञा अवधिभर बन्द रहने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना गरी साउन १६ गतेदेखि राति ११ बजेबाट बिहान ५ बजेसम ५ दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । जिल्लाभरि रातिमा निषेधाज्ञा जारी गरिएपनि महोत्तरी गाउँपालिका वडा नं. ३ र ५ पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो पटक सो गाउँपालिकाका वडा नं. ३ स्थित डाम्ही मडैमा एक ईन्जिनीयरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएपछि अन्य नागरिकको स्वास्थ्य र ज्यानको ख्याल गर्दै सो पुर्ण रुपमा निषेधाज्ञा जारी गरिएको कुरा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !