जनकपुरधाम, साउन १३ गते । प्रदेश २ सरकारको कमीशन खेलको कारण भेन्टीलेटर आभावमा एक कोरोना संक्रमति धनुषामा मृत्यु भएको रहस्य बाहिरिएको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शनिबार उपचारका लागि भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षिय युवकको उपचारको क्रममा भेन्टीलेटर आभावमा आइतबार मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालमा भेन्टीलेटर आभाव भएपछि उनलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । सो अस्पतालमा लैजाने क्रममा सिरहाको मिर्चैयामै मृत्यु हुन गयो ।
प्रादेशिक अस्पताल जनकपुरधामको आइसीयू वार्डमा मात्र दुईवटा भेन्टिलेटर रहेकोमा त्यो खाली नभएपछि धरान रेफर गरिएको कुरा अस्पतालका डा. जामुन सिंहले बताएका छन । गत वैशाखदेखि नै प्रदेशमा कोरोना संक्रमितको चाप बढ्दै गईरहेको अवस्थामा पनि सरकारले भेन्टीलेटरको व्यवस्था गर्न सकेको छैन ।
भेन्टीलेटर आभावले उपचारमा समस्या भइरहेको चौतर्फी आवाज उठन थालेपछि मन्त्रिपरिषदले समाजिक विकास मन्त्रालय मार्फत ३० वटा भेन्टिलेटर किन्ने निर्णय गरेको थियो । तर बोलपत्र आह्वान भएपनि कमीशनको कुरा मिल्न प्रदेश सरकारले भेन्टीलेटर किन्न सकेन । कोरोना प्रभावित १३ जनाको प्रदेशमा हालसम्म मृत्यु भइसकेको छ ।
सरकारी अस्पतालमा मात्र ९ भेन्टिलेटर
कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि आईसीयू वार्डमा भेन्टिलेटर महत्वपूर्ण उपचार सामाग्री हो । प्रदेश दुईका आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै ९ वटा भेन्टिलेटर छ । वीरगञ्ज र जनकपुरधामका सरकारी अस्पतालमा मात्र आईसीयू छ ।
प्रदेशका निजी अस्पताल मध्ये पर्साको नेशनल मेडिकल कलेजमा २५ र जनकपुरधामको जानकी मेडिकल कलेज संग ५ वटा भेन्टिलेटर रहेको छ । सरकारी अस्पताल मध्ये राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ४ वटा भेन्टिलेटर छ तर आईसीयू आभावमा त्यो प्रयोग विहिन रहेको छ ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा २ र विरगंज स्थित नारायणी अस्पतालमा ३ वटा भेन्टीलेटर छ जुन जेनरल आईसीयू वार्डमा प्रयोग हुंदै आएको छ । तर प्रदेश स्थित कुनै पनि कोभिड अस्पतालमा आईसीयू वार्ड भएपनि भेन्टीलेटर छैन जबकि ती सबै कोभिड अस्पताल र कोरोना उपचार अस्पतालमा भेन्टीलेटरको आवश्यकता छ ।
कमिशनको खेलमा किन्न सकिएन भेन्टीलेटर
कोरोना संक्रमणको प्रभाव बढदै गएको देखेपछि गत वैशाख ८ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकबाट दुई चरणमा गरी ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार पहिलो चरणमा ३० वटा भेन्टिलेटर किन्न बोलपत्र (टेण्डर) समेत आह्वान गरियो । तर टेण्डर आह्वानको एक महिना बितिसक्दा पनि कमिशन खेलमा किन्न सकिएको छैन ।
भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटर सहितको आइसीयु कक्षको व्यवस्था गर्नका लागि रकम समेत निकासा गरि सकेको बुझिएको छ । हुनत प्रदेश दुुईको सामाजिक विकास मन्त्रालयले गत असार १२ गते टेण्डर आह्वान गरेको थियो ।
टेण्डर ८ वटा फर्मले भरेकोमा मन्त्री नवलकिशोर साहको मिलामतोमा ठूलै कमीशनको चलखेल भइरहेको समाचार विभिन्न संचार माध्यममा आएपछि त्यो टेण्डर नै रद्द गरिएको कुरा मन्त्रालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
हुनत सामाजिक विकास मन्त्री नवलकिशोर साहले टेण्डरमा कुनै संस्थाको दरखास्त नपरेकाले त्यो रद्द गरी फेरी अर्को टेण्डर आह्वान गर्न लागिएको बताएका छन । तर ती कर्मचारीका अनुसार मेडिको, होस्पिटेक, मेडी सोलुसन गरी ८ कम्पनीले तीनवटै बोलपत्रमा प्रस्ताव दर्ता गराएका थिए ।
मन्त्रीका छोरा सुमित साहले ठूलै कमीशनको खेलमा ती कम्पनी मध्ये काठमाडौँको होस्पिटेड ईन्टरप्राईजेजलाई टेण्डर दिन चाँजोपाँजो मिलाएका थिए । होस्पिटेड ईन्टरप्राईजेजका संचालक विशाल पण्डितसँग जनकपुर स्थित होटलमा कयौं पटक मन्त्रीका छोरा सुमित, सचिव डा. रामप्रसाद घिमिरे र स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादव सहितका व्यक्तिको बैठक समेत भएको थियो श्रोतको दाबी छ ।
भेन्टीलेटर खरीदमा करोडौको चलखेल सम्बन्धी समाचार बाहिरिएपछि मन्त्रीका छोरा सुमितले खरीद प्रक्रियामा हात झिकेपछि त्यो टेण्डर नै रद्द गरिएको श्रोतको भनाई छ ।
श्रोतका अनुसार ४ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य १५ लाखको दरले ३० वटा किन्ने कुरो थियो । चार लाख रुपैयाँ पर्ने भेन्टीलेटर १५ लाखमा खरीद गर्दा ३ करोडभन्दा बढीको चलखेल हुने थियो । तर संयोगले समाचार बाहिरिएपछि मन्त्रालयलाई टेण्डर नै रद्द गर्नुपरयो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !