जनकपुरधाम, आर्थिक अनियमितता र योजनाको पारदशिताको मांग गर्दै धनुषाको धनुषाधाम नगरपालिका र महोत्तरीको पिपरा गाउँपालिकाले तालाबन्दी गरिएको छ ।
धनुषाधाम नगरपालिकामा स्थानीयले आवश्यक नभएको ठाँउमा पनि बाँध निर्माणका लागि उपभोक्ता समितिसँग मिलेर रकमको चलखेल गरेको आरोप लगाउंदै ताला लगाएका हुन् ।
अनावश्यक ठाँउमा बाँध निर्माण गरेपछि अधिकांश वस्तीहरु डुबानमा परेको भन्दै सिकियाहा टोलवासीहरु नगरपालिका विरुद्ध प्रदर्शन गर्दै तालाबन्दी गरेका छन ।
यस्तै महोत्तरीको पिपरा गाउँपालिकाको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।

उनीहरुले डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका अध्यक्षले कुनै सुनुवाइ नगरेको भन्दै गाउँपालिका कार्यालयको मूलगेटमै तालाबन्दी गरेका हुन् ।
नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका कार्यकर्ताले आरोप लगाएका छन् । जाडो महिनामा गरिब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको जसपाको आरोप छ ।
जाडो महिनामा स्वेटर, कम्बल लगायताका लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीहरूको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको हो । जसपाका कार्यकर्ताहरुले गाउँपालिका कार्यालयको मूलगेटमा विगत ५ दिनदेखि धर्ना समेत दिदैं आएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !