महेश ठाकुर/जनकपुरधाम, असार २८ । राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले बीबीसीका पत्रकार वृजकुमार यादव विरुद्ध साधना केन्द्रमा तोडफोड गरेको भन्दै उजुरी दिएका छन ।
योग साधना केन्द्रका अध्यक्ष विरेन्द्र यादवले पत्रकार यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका हुन् । योग साधना केन्द्रको साधक साधिकाहरु सहितका टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला समक्ष उजुरी दिएका छन ।
यसअघि आइतबार नै राजर्षि जनक पतञ्जली योग साधना केन्द्रले एक पत्रकार सम्मेलन गरी पत्रकारिता जस्तो सम्मनित पेशामा लागेका व्यक्तिले आफ्नो जग्गाको बाटो बनाउनका लागि सार्वजनिक सम्पतिमा तोडफोड गरेको आरोप लगाउंदै आपति जनाएका थिए ।
पत्रकार सम्मेलनमा केन्द्रका संरक्षक एवं प्रदेश दुईको प्रदेशसभा सदस्य कौशल यादवले पत्रकार बृजकुमार यादवले आफ्नो विवादित जग्गाको बाटो बनाउनका लागि सार्वजनिक सम्पतिमा तोडफोड गरेको आरोप लगाएका थिए । उनले तोडफोडमा भएको क्षतिको क्षतिपूर्तीका साथै कानूनी कारबाहीको माग समेत गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा गुठीको नाउँमा रहेको ७ कठ्ठा जग्गामा संचालित एक योग शिविरको सेडको पर्खाल गत असार २५ गते एक समुहले भत्काएको थियो । त्यसको भोलीपल्ट असार २६ गते पापमोचनी सर पोखरीको उत्तर तर्फको डीलमा योग साधना केन्द्रकै बगलमा रहेको एक घरलाई समेत भत्काइयो ।
संरक्षण यादवले सो घटना बीबीसीका पत्रकार यादवले नै गराएको दाबी गर्दै केन्द्रको जिन्सी सामान, जेनरेटर, पूजा अर्चनाका लागि आवश्यक सामाग्रीहरु, साउण्ड सिस्टम लगायतका सामाग्रीहरु समेत लुटिएको आरोप लगाए ।
शिविरले समेत जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको जिज्ञासामा उनले गुठी संस्थाको काठमाण्डौँ स्थित केन्द्रिय कार्यालय र जनकपुरधाम स्थित कार्यालयसंग लिजमा जग्गा लिई शिविर निर्माण गरिएको दाबी गर्दै लिज वापतको रकम बुझाउंदै आएको भने ।
योग साधना केन्द्रले पापमोचनी सर पोखरीको डीलमा रहेको गुठीको जग्गा उपभोगका लागि सिट नम्बर १३५५–१६ कित्ता नम्बर ५८को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर जग्गाका लागि २०७३ साल मंसिर ८ गते चलन पूर्जी प्राप्त गरेको थियो । बाँकी रहेको जग्गा पोखरीको डीलमा सडकका लागि १५ फिटको जग्गा छोडिएको छ ।
यता पत्रकार बृजकुमार यादवले आफुहरुले योग शिविर तोडफोड नगरेको दावी गरेका छन । उनले आफुले करिब अढाई वर्षपूर्व नै टुडे गु्रपको कार्यालयको लागि जग्गा खरिद गरेको र सो जग्गाको दुवै तर्फी बाटो रहेको छ , शिविरमा कसले तोडफोड गरियो आफूलाई थाहा नभएको बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !