जनकपुरधाम, असार २३ गते । प्रदेश २ सरकारले कोरोना भाइरस संक्रमण चेकजाँचका लागि पीसीआर मेसिनमा खर्चेको करोडौ रुपैया खेर गएको छ ।
सरकारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत आरटी पीसीआर मेशिन खरीदमा मात्रै २ करोड ७० लाख रुपैयाँ खर्चयो तर सामाग्री आभाव बताउंदै मंगलवारदेखि चेकजाँच बन्द गरेको छ ।
संघ सरकारले दिएको पोर्टेबल पीसीआर मेसिन गलत रिपोर्ट दिइरहेको भन्दै प्रदेश सरकारले कोरोना चेकजाँचमा तिव्रता दिन प्रदेशका बिरगंज स्थित नारायणी अस्पताल, अस्थायी राजधानी जनकपुरधाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २ करोड ७० लाख रुपैया खर्चेर आरटी पीसीआर मेसिन जडान गरियो ।
तर अहिले पीसीआर परिक्षणमा प्रयोग हुने ‘कन्ज्युमेबल्स’ सामाग्री आभाव देखाउंदै जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले मंगलवारदेखि पीसीआर चेकजाँच बन्द गरेको छ ।
लेखा शाखा र स्टोरका कर्मचारीले असहयोग गरेकाले आफूहरु सामग्री खरीद गर्न नसकेको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिएका छन । उनले भने,‘मैले पटक पटक मन्त्रालय र सचिवलाई लिखित पत्र नै पठाईसकेको छु तर कसैले कुनै चासो नलिएपछि अन्ततः चेकजाँच बन्द गर्नु परेको बताए ।
गत जेठ १९ गतेदेखि जनकपुरधाममा विधिवत रुपमा सञ्चालनमा आएको पीसीआर मेसिनले हालसम्म डेढ महिनाको अवधिमा करीब साढे ४ हजार मात्र गरेको छ । नेपाल सरकारले तोकेको कम्पनीसँग मेसिन खरीद नगरेको कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रदेश २ स्थित मेसिनबाट चेक हुने रिपोर्टलाई मान्यता दिइरहेको छैन ।
प्रदेश सरकारले रौतहट जिल्लाको गौर अस्पतालका लागि पीसीआर ल्याब संचालन र व्यवस्थापनका लागि डेढ करोड रुपैया निकासा गरेपनि हालसम्म संचालनमा आउन सकेको छैन । रकम निकासा गरिएपनि विभिन्न कारण देखाई गैरमा हालसम्म पीसीआर मेसिन जडान हुन नसक्नुको प्रमुख कारण मेसिन खरीदमा कमीशनको कुरा नमिल्नु रहेको मन्त्रालय श्रोतको दाबी छ ।
यसअघि संघ सरकार मार्फत दुईपटक प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको पोर्टेबल पीसीआर मेशिनले गलत रिपोर्ट दिएपछि जाँच बन्द गरेर तेस्रो पटक प्रदेश २ सरकारले आफै रियल टाइम (आरटी) पीसीआर मेशिन खरीद गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !