जनकपुरधाम, असार २१ गते । कोरोना भाइरस महाकारीको कारण यसवर्ष एसईई परिक्षा जस्तै कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बसेको बैठकले एसईई जस्तै कक्षा ११ को पनि आन्तरिक मूल्यांकनबाटै विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताएका छन ।
‘विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो । कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनु परेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो ।
निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !