जनकपुरधाम, असार ९ गते । योजना तर्जुमाका लागि जनकपुरधाम उपमहानगरपालिकाको बोर्डको बसेको बैठकमा प्रमुख लालकिशोर साह पक्ष र वडाध्यक्षबीच कुर्सी तोडफोड र हात हालाहाल भएको छ ।
नगरसभा नजिकिदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखले एकलौटी निर्णय लाद्न खोजेको रबैयाप्रति बिरोध जनाएपछि धक्काधुक्की हुँदै हात हालाहालसम्मको भएको हो ।
वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको हरहिसाबको विवरण तथा निति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए । विवाद लम्बिदै जाँदा उपस्थित वडाध्यक्षहरु तयार पारिएको माइन्युट समेत च्यातेपछि मेयर पक्ष र वडाध्यक्षहरुबीच विवाद उत्पन्न भएको थियो ।
बोर्ड बैठकमा उपस्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक संचालन गर्न खोजेको आरोप लगाए । बोर्ड बैठकमा जबरजस्ती प्रमुख साहले माइन्युटमा हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको वडाध्यक्ष जानकीरामले बताएका छन ।
पालिकाको सभा संचालन गर्न अगाडी पहिले निति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनु पर्ने हुन्छ । निति तथा कार्यक्रम पारित गराउनका लागि जनप्रतिनिधिहरुलाई कम्तीमा २४ घण्टा अगाडी उपलब्ध गराउनुपर्ने जनकपुरधाम उपमहानगरपालिकाले बनाएको बैठक संचलान सम्बन्धि कार्यविधिको छलफलको विषय ससम्बन्धी १२ नम्बर बुन्दाको १ मा उल्लेख छ ।
तर अध्ययन गर्नका लागि निति तथा कार्यक्रम नै नदिई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएकोमा वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले आपत्ति जनाउंदै प्रमुख साहको रबैया नसच्चिए आफूहरु बैठक संचालन हुन नदिने चेतावनी दिएका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कुल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अरु पैसा मेयर साह भ्रष्टाचार गर्नकै लागि निजि श्रोतको रुपमा राखेको आरोप लगाए । उनले भने ‘ हामीले उठाउने गरेको राजश्वमा समेत भ्रष्टचार भई रहेको छ, मैले आफ्नो वडाबाट ९ लाख रुपैयाँ राजश्व उठाएर दिएको छु जबकि ४ लाख रुपैयाँ मात्रै हिसाबमा उल्लेख छ ।’ यसले नै स्पष्ट हुन्छ मेयर साह कति भ्रष्ट र असफल मेयर हुनु हुन्छ वडाध्यक्ष सिंहको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुख साह अलोकतान्त्रिक विधि अपनाएर अगाडी बढ्न खोजेको आरोप लगाए । उनले भने ‘विगत ३ वर्षदेखि हामी उपमहानगरपालिकाको काम कारवाही पारदर्षी बनाउन माग गरिरहेका छौँ, तर प्रमुख साह मान्नु हुन्न ।‘ अगाडी भने ‘ मेयर साबलाई डर छ पारदर्षी विधि अपनाएँ भने आफूले विगत ३ वर्षदेखि गर्दै आएको भ्रष्टाचारको पोल खुल्ने छ ।’
उपमहानगरपालिकाका वडाध्यक्षहरु प्रत्येक वर्ष बजेट फ्रिज हुँदै आएकोप्रति समेत आपत्ति जनाए ।
यता आफू मेयरको अलोकतान्त्रिक विधि बिरुद्ध आवाज उठाउँदा आफूलाई मेयरको लठैत कार्यपालिका सदस्यहरुले तछाड मछाड गरि धक्काधुक्की गरेपछि हात हालाहालको अवस्था अवस्था उत्पन्न भएको वडा नम्बर १० का वडाध्यक्ष मिथिलेश कर्णले आरोप लगाए । उनले यहि शैली रह्यो भने हामी बैठक संचालन गर्न नदिने अडान व्यक्त गरे ।
जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता मिश्र बैठक नै शुरु हुन नदिई वडा नम्बर ७ को वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताइन् ।
उनले बैैठक शुरु हुने वित्तिकै सम्पूर्ण हरहिसाब वडाध्यक्ष लगायतक कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेको बताउँदै भनिन् ‘ वडाध्यक्षहरुले देखाएको रबैया गलत हो ।’ उनले माइन्युट च्यात्ने वडाध्यक्ष बिरुद्ध मुद्दा चलाउने तयारी समेत भई रहेको जानकारी दिइन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !