जनकपुरधाम, असार ८ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ३ हजार नाघेको छ ।
सामाजिक विकास मन्त्रालयले सोमवार जारी गरेको सूची अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २९ पुगेको छ । पछिल्लो पटक भेटिएका संक्रमित मध्ये १४ जना महिला र ११३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार धनुषामा ९, महोत्तरीमा १, सिरहामा २५, सप्तरीमा १३, रौतहट ३३ र सर्लाहीमा ४६ जनामा पछिल्लो २४ घण्टामा केन्द्रीय प्रयोगशाला, जनकपुर स्थित प्रादेशिक प्रयोगशला र राजविराज स्थित प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको छ ।
धनुषामा पुष्टि भएका मध्ये धनौजी गाउँपालिकामा ३, विदेह नगरपालिकामा ४ र महेन्द्रनगर ब्यारेक स्थित क्वारेन्टाईनमा २ जनामा कोरोना पुष्टि भएको छ भने महोत्तरीको पिपरामा १ र सिरहाको एसएसएमसी क्याम्पस स्थित क्वारेन्टाईनमा २५ जना संक्रमित फेला परेको हो ।
सर्लाहीमा संक्रमण पुष्टि भएका मध्ये ईश्वपुरका ३१ र पीएचसी क्वारेन्टिनका १५ जनामा कोरोना देखिएको छ भने रौतहटको गौर अस्पतालमा रहेका ३२ जना र लौकाहास्थित आइसोलेसनमा बसेका थप १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनीका र राजविराजमा २÷२ जना, राजगढका ५ जना, बालनबिहुलका ४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा हालसम्म सप्तरीमा १५१, सिरहामा १४६, धनुषामा २५७, महोत्तरीमा ५३५, सर्लाहीमा ५९८, रौतहटमा एक हजार ७९, बारामा १०७ र पर्सामा १५६ जनामा कोरोना पुष्टि भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !