जनकपुरधाम, असार ८ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका ४ स्थित रामजानकी सोडा नोनियार कुटीमा १ कट्ठा ११ धुर जग्गा आफ्नो रहेको प्रेमबाबु साहले दाबी गरेको छ ।
आइतवार प्रेमबाबु साहले भोगचलनका लागि आफ्नो संरचना निर्माण गर्न मन्दिरले बनाएको संरचना तोडफोड गर्दा महावीर युवा कमिटी र केही स्थानीयले विरोध गर्दा विवाद भएको थियो ।

विवाद पश्चात सोमवार प्रेमबाबु साहले एक पत्रकार सम्मेलन आयोजना गरी मन्दिरमा रहेको उक्त जग्गा आफूले जग्गाधनी किशोरी देवी पौडेलको छोरा सन्तकुमार पौडेलबाट एक करोड १ लाख ११ रुपैयामा २०७५ साल वैशाख २६ गतेका दिन किनेको दाबी गरेका छन ।
पौडेललाई रुपैया बुझाएपछि सो जग्गाको वारेसनामा आफ्नो नाममा गरेको बताउंदै प्रेमबाबुले उक्त जग्गामा नोनियार कुट्टीले बलजफ्ती घर र पर्खाल निर्माण गरेर कब्जा गर्न खोजेपछि आफूले उक्त संचरना भत्काई आफ्नो संरचना निर्माण गर्न लागेको बताए । उनले भने नोनियार कुट्टीकै जग्गा हो भन्ने प्रमाण न त नोनियार कुट्टी सँग छ न विरोध गर्ने महावीर युवा कमिटीसँग रहेको छ ।
सो जग्गा शुरुदेखि नै विवादित रहदै आएको छ । तर उच्च अदालत र सर्वोच्च अदालतले जनकपुर शहरी क्षेत्र नापी क्याम्प र नापी शाखाको कागजातको आधारमा किशोरी देवी पौडेलकै पक्षमा फैसला गरेको थियो । सोही फैसलाको आधारमा किशोरी देवीको छोरा सन्तकुमार पौडेलले प्रेमबाबु साहसँग जग्गा विक्री गरेको हो ।
पत्रकार सम्मेलनमा प्रेमबाबु साहले उपलब्ध गराएको कागजातको आधारमा नापी क्याम्पले २०४५ माघ २५ गतेको मितिमा सिट नं. १३९५—०९ को कि.नं. १२ (ग) को ०—३—१६ मध्ये दक्षिणतर्फ रामजानकी सोडा नोनियार कुट्टीको नाममा ०—२—५ र उत्तरतर्फ किशोरी देवीको नाममा ०—१—११ क्षेत्रफलको जग्गा छुटयाएको छ भने २०४७ असार २४ गतेको मितिमा नापी शाखाले गुठी संस्थान अन्तर्गत रहेको ०—३—१६ मध्ये ०—१—११ किशोरी देवीको नाममा कायम गर्न भनेको छ ।
साहले भने कागजी आधारमा किशोरी देवीको नाममा रहेको जग्गा मैले किनेको हुँदा सो जग्गामा आफूले भोगचलन गर्न खोज्दा महावीर युवा कमिटी र नोनियार कुट्टीमा अधिपत्य जमाएका केही व्यक्तिले आफ्ना निजी स्वार्थ पुरा गर्न विरोध गर्दै आएका छन । सो जग्गामा यसअघि श्याम सुन्दर सर्राफ भन्ने व्यक्तिले कब्जा गर्न समेत खोजेका थिए ।
सर्राफले गुठीको डाक बढाबढमा आफूले किनेको हुँ भनी दाबी गर्दा पुनरावेदन र सर्वोच्चमा समेत मुद्दा हारिसकेका छन । अहिले आएर महावीर युवा कमिटीका पदाधिकारीहरुले केही व्यक्तिलाई उचालेर आफ्नो निजी स्वार्थ पुरा गर्नमा लागेको आरोप साहले लगाए ।
महावीर चौक स्थित धर्मशाला कब्जा गरेका महावीर युवा कमिटी आफ्नो निजी जग्गा समेत कब्जा गर्न खोजेको आरोप लगाउंदै साहले क्लब कमिटीको काम हो समाजिक उत्थान र सार्वजनिक सम्पति जोगाउने तर महावीर युवा कमिटीका केही पदाधिकारी निजी स्वार्थ पुरा गर्न आफ्नो जग्गा कब्जा गर्न जाइ लागेको भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !