सप्तरी, असार ७ गते । सप्तरीमा आइतवार थप तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएका सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ५ का ३३ वर्षीय पुरुष तथा सुरुङ्गा गाउँपालिका वडा न. १ का २८ वर्षीय र वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरु क्रमशः भारतको मुम्बई, हरियाणा र दिल्लीबाट आएका हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार तीनजनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उनीहरु छिन्नमस्ता गाउँपालिकास्थित सखडा मावि र सुरुङ्गा गाउँपालिकास्थित शिशवारी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । तीनैजनालाई आजे राजविराज नगरपालिका वडा न.१ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा पठाइएको छ ।
यो संगै सप्तरीमा संक्रमित हुनेको संख्या १२ महिलासहित १ सय ५८ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीको १५ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।
त्यस्तै जिल्लाको बोदेबर्साइन नगरपालिकामा २ महिलासहित ३२ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा १ महिलासहित ३१ जना, बलान बिहुल गाउँपालिकामा ४ महिलासहित २७ जना, छिन्नमस्ता गाउँपालिकामा २ महिलासहित १६ जना रहेको छ ।
राजगढ गाउँपालिकामा १३ पुरुष र राजविराज नगरपालिकामा २ महिलासहित १३ जना, डाकनेश्वरी नगरपालिकामा १ महिलासहित १२ जना, खडक, सुरुङ्गा र कञ्चनरुप नगरपालिकाका ३÷३ जना, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा १र१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !