जनकपुरधाम, असार ५ गते । लकडाउनलाई व्यवस्थित बनाउन सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँलडुलमा रोक लगाएको छ ।
शुक्रबार गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको भनेको छ । हिलडुल गरेको पाइएमा कानून बमोजिम कारवाही हुनेछ ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ । सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो । रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।
त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ ।
गृह मन्त्रालयले अत्यावश्यक कामबहाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ । हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।
कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन समेत भनेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !