जनकपुरधाम, जेठ ३२ गते । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश नम्बर २ को निती तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आइतबार प्रदेश सभाको बसेको चौथो अधिवेशनको १० औं बैठकबाट पारित भएको हो ।
प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्ग लगायतकाले संशोधन प्रस्ताव पेश गरेपनि अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन् ।
छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राखेका थिए । छलफलमा छुटेका विषय वस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे ।
गत बुधवार नै पारित हुने कार्यसुचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलकै सांसदहरु अनुपस्थित रहँदै आएपछि रोकिएको थियो । सत्तारुढ दलको आन्तरिक छलफल पश्चात असन्तुष्टहरुलाई सहमतिमा ल्याएपछि तिनीहरु बैठकमा उपस्थित भएको थियो । प्रदेशसभाको अर्को बैठक अषाढ १ गते साँझ ५ बजे बस्नेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !