जनकपुरधाम,, जेठ २३ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ९ सय ८३ पुगेको छ ।
संक्रमित हुनेहरुमा ३ र ९ बर्षका बालक, एक महिला र अन्य १९ जना पुरुष रहेको छ । धनुषामा ४ जना, महोत्तरी ९ जना, रौतहटमा ६ जना र बारामा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका २० देवपुरु रुपैठास्थित जनता माध्यमिक विद्यालयमा देवपुराको क्वारेन्टिनमा बसेका ३ जना र जनकपुरमै बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको छ ।
महोत्तरीको मटियानी नगरपालिकास्थित लक्ष्मीनारायण याज्ञवल्क्य सँस्कृत क्याम्पस क्वारेन्टिनका ८ जना र सोनमा गाउँपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–३ मठिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका एक महिला, ३ र ९ बर्षका बालक, ईशनाथ–२ स्थित गंगा जमुना बोर्डिङ स्कुलमा २ जना, गजुरा नगरपालिका–६ स्थित खतबैया मदरसा क्वारेन्टिनमा एक जनामा संक्रमण देखिएको छ ।
प्रदेशमा १८ जना कोरोना शंकास्पद व्यक्तिको उपचार समेत भइरहेको छ । सिराहाको सिराहा नगरपालिकास्थित कोभिड विशेष अस्पतालमा ५ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड अस्पतालमा ४ जना, महोत्तरीको जलेश्वर अस्पतालमा ८ जना र पर्साको पोखरिया स्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
हाल प्रदेशका सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ९२, महोत्तरी ५२, सर्लाही १४९, रौतहट ३९०, बारा ४९ र पर्सामा ११४ जना संक्रमित भइसकेका छन भने १ सय २३ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्केका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !