जनकपुरधाम, जेठ १५ गते । लकडाउनका कारण भारतबाट आएर सीमामा फंसेका नेपाली नागरिकको धनुषाको जटही र खजुरीबाट हुँदै आएको उद्धार कार्य शुक्रवारदेखि बन्द हुने भएको छ ।
भारतबाट जिल्लामा आउनेहरुको संख्या अत्यधिक वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले त्यसलाई व्यवस्थित बनाउन केही दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

जिल्लाका दुवै नाकामा क्वारेन्टाइन सहित अन्य व्यवस्था गरेपछि मात्रै पुनः नाकाबाट उद्धार गर्ने कार्य संचालनमा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिएका छन ।
उनले भने केन्द्रिय सरकारको निर्देशन अनुसार भारतबाट आउनेहरुको संख्याको आधारमा सीमानाकामा सुरक्षा र क्वारेन्टाईन व्यवस्थापनसम्मका लागि स्थागित गरिएको छ ।
पोखेरलले तत्कालका लागि धनुषाको नाका बन्द भएपनि भारतबाट आउने जिल्लावासीहरु सिरहा जिल्लाको माडर नाका र महोत्तरी जिल्लाको भिठठमोड नाकाबाट आउन सक्नेछ ।
यसअघि धनुषा प्रशासनले जटही नाका र खजुरी नाका सँचालन गरेपछि अपेक्षा भन्दा बढी सँख्यामा नेपाली नागरिकहरु आउन थालेपछि व्यवस्थापनमा समस्या भएको थियो ।
पछिल्लो पटक बुधबार मात्रै ५ सयभन्दा बढीको संख्यामा भारतबाट फर्केका नेपाली नागरिक भित्रिएका छन । सोही क्रममा जटही नाकामा जिल्लाको शहीदनगर नगरपालिकाका एक युवकको मृत्यु समेत भएको थियो ।
ती युवकको मृत्युपछि उनी संगै आएकाहरु सयौको सँख्यामा सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फ प्रस्थान गरेपछि स्थानीय प्रहरी प्रशासनलाई नियन्त्रण गर्न धौ धौ परेको थियो । त्यसै कुरालाई मध्यनजर गर्दै सरकारले तत्कालका लागि धनुषाको नाका बन्द गर्ने निर्णय गरेको बुझिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !