जनकपुरधाम, जेठ ३ गते । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनमा फँसेका नेपाली नागरिकलाई प्रदेश २ मा भित्रियाउने क्रम शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा सीमानाकामा फँसेका नेपाली नागरिकलाई ल्याउने क्रममा आइतवार देखि शुरु भएको छ । आइतवारदेखि मंगलवारसम्म धनुषाको जटही नाकाबाट १ सय ६३ जनालाई भित्रियाइएको छ ।

नाकाबाट लुकिछिपी आउन थालेपछि संक्रमितहरुको संख्यामा समेत वृद्धि भइरहेको आरोप प्रत्यारोप लागि रहेकोले तिनीहरुलाई व्यवस्थापन गर्न आइतवारदेखि व्यवस्थित रुपमा ल्याउने कार्य शुरु गरिएको कुरा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक शरदकुमार पोखरेलले जानकारी दिएका छन ।
उनले भने भारतबाट आउन खोज्ने नेपालीहरु आफ्नो जिल्लाको नाकाबाट मात्र प्रवेश गर्न पाउने निर्देशन अनुसार जिल्लाको जटही नाकाबाट आइतवार ५९, सोमवार ६९ र मंगलवार ३५ जनालाई सीमामा अलपत्र रहेकाहरुलाई उद्धार गरी भित्रियाइएको छ ।
बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सीमामा फँसेकाहरुलाई ल्याउने कार्य भइरहेको जानकारी दिंदै उनले तिनीहरुलाई नाका स्थित हेल्प डेस्कमा प्रारम्भिक स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाईनमा पठाउने गरिएको छ । चेकजाँचमा कोरोना भाइरस लक्षण देखिएकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइनेछ तर हालसम्म त्यस्तो कुनै व्यक्ति फेला नपरेको जानकारी समेत सहायक प्रजिअ पोखरेलले दिए ।
नाकामा फसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरी जटही नाकाबाट ल्याउने निर्णय अन्तर्गत नेपाली सीमामा क्वारेन्टाइन स्टेशन हुनेछ । पारीबाट आएकाहरु क्वारेन्टिन स्टेसनमा बस्ने छन् । त्यहाँबाट सम्बन्धित पालिकाको क्वारेन्टाईनमा तिनीहरुलाई पठाइने छ ।
भारतमा रहेका तथा नाकामा फसेकाको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएपनि सीमामा पुगिसकेका अलपत्र नागरिकलाई दैनिक रुपमा उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाउने क्रम लकडाउन अवधिसम्म जारी रहने उनले जानकारी समेत दिए ।
भारतको क्वारेन्टाइनमा बसेर नेपाल आउन फिर्ता आउने करिब पाँच हजार नेपाली प्रदेश २ को विभिन्न नाकामा अलपत्र अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्रोतको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !