काठमाडौ, जेठ ६ गते । सरकारले राजधानीमा डेरामा बसेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई विभिन्न बहानामा घरबाट निकाल्ने वा दबाब दिने घरबेटीलाई कारबाही गर्ने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार तीन सुरक्षा निकाय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन ।

घरबेटीहरुले महामारीका बेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसहित अन्यलाई घरबाट निकाल्ने, काममा जाँदा पनि विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहारजस्ता घटना सार्वजनिक भइरहेका छन् ।
यस्ता कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । स्वास्थ्यकर्मीको मनोबल गिराउने जस्ता कार्य क्षम्य नहुने मन्त्री थापाले बताए ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलाई बोलाएर गृहमन्त्रीले छलफल गरेका हुन् ।
त्यस्तै लकडाउन र शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि छलफल भएको गृह मन्त्रालय श्रोतले जनाएको छ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !