काठमाडौँ, जेठ ६ गते । मंगलवार दिउंसोसम्म देशभरमा २७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपत्यकामा ३ जना सहित २७ जना संक्रमित थपिएको बताए ।
यो संगै देशभरिमा ४ सय २ जना कोरोना पुष्टि भएको हो । जसमध्ये ३४० र ६२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् । थपिएका मध्ये झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौँ ३, भक्तुपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङमा १÷१ जना संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
१७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो । बिहान कपिलवस्तुमा ४ र नवलपरासीमा १ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसैबीच सरकारद्वारा मात्रै कोरोनाको चेकजाँच हुँदै आएका पीसीआर अब शुल्क तिरेर पनि चेक गर्न पाइने भएको छ ।
स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् ।
प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन् ।
सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०/१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !