काठमाडौ, जेठ ४ गते । अति उच्च जोखिममा रहेका प्रदेश २ को पर्सा जिल्लामा ९६ जना कोरोना संक्रमित अहिले उपचाररत रहेका छन् ।
उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । प्रदेशभरिमा १ सय २२ जना संक्रमित मध्ये पर्सा जिल्लामा मात्रै ८८ जना संक्रमित रहेको छ ।

नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ६३ जना पुरुष र ८ जना महिला छन् ।
त्यस्तै सिद्धार्थ माविमा बनाइएको आइसोलेसन कक्षमा २५ जना संक्रमित रहेको डा. सिंहले बताए । जसमध्ये २ जना बालकसहित १७ जना पुरुष र ८ जना महिला रहेका छन् । उपचारत व्यक्ति मध्ये पर्सा जिल्ला बाहेक रौतहट र बारा जिल्लाको पनि संक्रमित सो अस्पतालमा उपचारत रहेका छन ।
पछिल्लो समय नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेपछि सिद्धार्थ माविलाई सेमी आइसोलेसन वार्ड बनाइएको थियो । गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नारायणी अस्पतालको प्रशासनलाई गण्डक हस्पिटल हस्तान्तरण समेत गरिसकेका छन् । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !