वीरगञ्ज, जेठ ४ गते । बारामा एकजना प्रहरी जवानमा कोरोना पुष्टि देखिएपछि प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।
कलैयास्थित जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित संक्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको बाल मन्दिरको क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको स्वाबको पीसीआर परीक्षण गरिने प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
शनिवार संक्रमित देखिएका रौतहट निवासी प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ । उनी २९ वैशाखमा घर गएर ३० गते कार्यालयमा फर्किएका जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
बाराका एक प्रहरी जवानसँगै अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी सहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !