विरगंज, जेठ ४ गते । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो कमजोरी लुकाउन प्रेसलाई बन्देज लगाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग माग गरेका छन् ।
कोरोना महामारीको अनुगमन गर्न पर्सा पुगेका मुख्यमन्त्री राउतलाई मेयर सरावगीले कोरोना महामारीमा सञ्चारकर्मीले ‘हाम्रो नकारात्मक मात्रै कुरा लेखेको’ भन्दै प्रदेश २ मा सेन्सरसिप गर्ने गरी कानुन निर्माण गर्न आग्रह गरेका छन ।
उनले मुख्यमन्त्रीलाई राउतलाई हामीले राहत बांड्दा, क्वारेन्टाईन र आइसोलेशन वार्ड बारे नाकारात्मक समाचारहरु मात्र सम्प्रेषण गर्ने गरेको भन्दै प्रेसमा प्रतिबन्ध लगाउन आवश्यक रहेको मांग गरेको थियो । यद्यपि, त्यो प्रतिवन्ध कस्तो रहने भन्ने चाहिँ उनले खुलाएनन् ।
वीरगञ्जको नगरसभागृहमा मुख्यमन्त्रीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगायत सहभागी छलफलमा मेयर सरावगीले यस्तो मांग गरेका हुन ।
तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले वीरगञ्जका सञ्चारकर्मीले आफ्नाबारे जथाभावी समाचार लेखेको आरोप पहिलेदेखि लगाउँदै आएका छन् ।
केही दिनअघि महानगरले वितरण गरेको राहतमा कुहिएको चामल खरिद गरी भ्रष्टाचार गरेको समाचार सञ्चारमाध्यममा आएको थियो । त्यति मात्र होइन महानगरको क्वारेन्टाईन र संक्रमित उपचार स्थल आइसोलेसनमा रहेकाहरुलाई खानामा अमानीय व्यवहार गर्दै आएको विभिन्न संचार माध्यममा समाचारहरु आइरहेको छ ।
छलफलमा नेपाल पत्रकार महासंघ प्रदेश– २ अध्यक्ष दिपेन्द्र चौहानले प्रेसलाई सेन्सरसिप लगाउने कुरा मेयर सरावगीको विकृत मानसिकताको उपज रहेका भनेका छन् ।
भ्रष्टाचारको समाचार लेख्यो भन्दैमा प्रेसलाई सेन्सर गर्ने मेयर सरावगीको दिवास्वप्न रहेको भन्दै चौहानले प्रेसले भ्रष्टचारविरुद्ध अझ धेरै लेख्नुपर्ने बताए ।
महामारीका बेला जोखिम उठाउँदै, कतिपय ठाउँमा दुव्र्यवहार खेप्दै जनतालाई सुसूचित गराउने काममा संलग्न पत्रकारमाथि सेन्सरसिपको कुरा गरेर मेयर सरावगीले आफ्नो कमजोरी लुकाउन खोजेको र लोकतन्त्रको खिल्ली उडाएको दाबी गरे ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !