बाँके, जेठ ४ गते । बाँके जिल्लाको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा कोरोना शंकास्पद एक युवकको मृत्यु भएको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि आइतवार बिहान क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खानले जानकारी दिएका छन ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्युु भएको थियो । यो घटनाले नरैनापुरवासी त्रसित बनेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको हो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरी पठाइ सकिएको र आजै रिपोर्ट आउने उनले बताए ।
एकैदिन आठ संक्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २ सय ८४ जना मध्ये २ सय ६३ जनाको शनिवार स्वाब संकलन गरिएको छ ।
गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसंगै बाँकेमा सङ्क्रमित ३३ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !