काठमाडौ, वैशाख २८ गते । विदेशमा कोरोना भाइरस (कोभिड(१९) बाट आइतबारसम्म ७८ नेपालीको मृत्यु भएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी ब्रिटेनमा ५१ जनाले ज्यान गुमाएका हुन ।

कोरोनाबाट संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको समितिले जनाएको छ । विदेशस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले तथ्यांक संकलन गरेको हो ।
समितिको तथ्यांक अनुसार विदेशमा रहेकामध्ये कूल ५ हजार ४७२ नेपाली कोरोनाबाट संक्रमित छन् । यो संख्या नेपालभित्र संक्रमित हुनेहरुको संख्या बाहेक हो । कोरोना संक्रमणमा पर्नेहरुमा विदेशस्थित अस्पतालमा कार्यरत ७४ जनाभन्दा बढी नेपाली चिकित्सक पनि छन् ।
कोरोनाबाट सबैभन्दा बढी नेपाली कतारमा संक्रमित भएका छन् । त्यहाँ दुई हजार तीन सय नेपाली संक्रमित भएका छन्, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देश अमेरिका रहेको छ । अमेरिकामा १ हजार ५ सय नेपाली संक्रमित छन्।
कोरोना संक्रमणको दर विदेशमा रहेका नेपाली समुदायमा गत साताभन्दा कम भएको समितिको ठहर छ । संक्रमणमा परेकामध्ये २ हजारभन्दा बढी नेपाली सञ्चो भएको समितिले उल्लेख गरेको छ ।

समितिका अनुसार विश्वभरिका नेपालीमध्ये २९ देशमा रहेकाहरुमा कोरोना देखिएको हो। ती मध्ये ९ देशमा नेपालीले ज्यान गुमाएका हुन् । २० देशका नेपालीमा कोरोना देखिएको छ ।
एनआरएनए महासचिव डा. हेमराज शर्माका अनुसार कोरोनाका कारण अप्ठ्यारोमा परेका ४६ देशका नेपालीलाई राहतमा वितरणको काम समेत भइरहेको छ । राहतमा प्याकेजमा खाना, मार्क्स, सेनिटाइजर, औषधि समेत रहेको उनले जानकारी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !