जनकपुरधाम, वैशाख २७ गते । प्रहरीले पूर्वी चितवनको राप्ती नगरपालिका ५ चौकीडाँडामा हवाई फायर गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका १२ बाट बरामद गरेको ३४ केजी गाँजा ल्याइरहेको क्रममा स्थानीयवासीले अवरोध गरेपछि एक राउण्ड हवाईफायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको जनाएको छ ।
झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन ।

प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेको छ ।
झडपको क्रममा तीन प्रहरी समेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !