जनकपुरधाम, वैशाख २६ गते । नेपाल सरकारले कोरोना भाइरुस महामारी रोकथामका लागि जारी गरेको लकडाउनका कारण अभिभावकहरु आर्थिक समस्यामा परेको हुनाले निजी विद्यालयहरुले बिद्यार्थीसँग अतिरिक्त शुल्क नलिने निर्णय गरेको छ ।

कोरोनाको त्रासका कारण नेपालमा गत चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु बन्द रहेको र नयाँ शैक्षिक सत्र सुरु हुनुपर्ने समय सकिन लागेको बिद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा संस्थापक सबै पक्षमा भएको अन्यौलतालाई मध्यनजर गर्दै निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्रदेश २ ले बिद्यार्थी तथा अभिभावकको पक्षमा बिभिन्न सकारात्मक निर्णयहरु गरेको हो ।
बन्दाबन्दीको अवधिमा बिद्यार्थीहरुको पढाई लेखाईलाई यथासम्भव जारी राख्न टिभी, रेडियो तथा अन्य प्रविधिहरुको प्रयोग गरि अनलाईन कक्षा सञ्चालन गर्ने र त्यसवापत कुनै किसिमको अतिरिक्त शुल्क नलिने निर्णय समेत गरिएको सचिव सिंहले स्पष्ट पारेका छन ।
बन्दाबन्दीका कारण शैक्षिक सत्र २०७६ को अन्तिम परिक्षा लिन नसकेका यस प्रदेशका निजी विद्यालयहरुले कक्षा नर्सरीदेखि सातसम्म र कक्षा ९ को त्यसै शैक्षिक सत्रमा लिइएको त्रैमासिक परिक्षाहरुको आधारमा अन्तिम परीक्षाफल तयार गरि जेठ ५ गतेसम्म प्रकाशन गर्ने र कक्षा ८ को बाँकी रहेका स्थानीयतहको परिक्षा सम्बन्धमा सोहि अनुसार गर्न स्थानीय पालिकाहरुसँग समन्वय गर्ने निर्णय गरिएको प्याबसन प्रदेश २ का सचिव विश्वलाल सिंहले जानकारी दिए ।
उनले भने,’बन्दाबन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक समस्या र पाठ्यपुस्तकहरुको अभावको कारण कक्षा २ देखि १० सम्म विगतको शैक्षिक सत्रमा चलेका पुस्तकहरु परिवर्तन नगर्ने निर्णय समेत हामिले गरेका हौं ।’ पूर्व प्राथमिक तथा कक्षा १ का लागि नयाँ पाठ्यक्रम अनुसार पुस्तकहरु प्रयोग गरिने उनले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैशाख २२ गतेको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्म कुनैपनि कक्षाको लागि नयाँ भर्ना नगर्ने निर्णय गरिएको समेत उनले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !