जनकपुरधाम, वैशाख १८ गते । महोत्तरी जिल्लामा अज्ञात रोगका कारण एकदिनमै चारजनाको ज्यान गएको २४ घण्टा नबित्दै पुनः दुईजनाको मृत्यु भएको छ ।
बुधबार राति महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा गाउँमा चारजनाको मृत्युको भोली पल्टै स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहाका मेयर संजिव साहले पुष्टि गरेका छन् ।

यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको थियो । सो बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो ।
यससंगै एकसातामा मेघनाथ गोरहना टोलमा अज्ञात रोगका कारण ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरेका छन् ।
उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएपनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन ।
बुधबारसम्म मृत्यु भएकाहरुको शव दाहसंकार गरिसकिएको जनाएको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले बताए । एक–एक गरि टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन् ।

स्थानीयले विषाक्त मदिराभन्दा पनि कोरोना भाइरसको महामारीको कारण मृत्यु हुन सक्ने आशंका गर्न थालेका छन । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ विषाक्त मदिरा वा कोरोना भाइरसको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !