रौतहट, वैशाख १६ गते । थप दुई संक्रमित भेटिएपछि स्थानीय प्रशासनले रौतहटमा मंगलबारदेखि दुई वडालाई सिल गरेका छन ।
जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाउंदै सिल गरेको हो ।
भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । त्यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर (मन) र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी इलाका सिल गरिएको छ ।

सिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रबाट सिल गरेको इलाकामा प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना नै निकालेर जनाएको छ ।
कोरोना संक्रमितको परिवार र समुदायलाई अलग गरेर इलाकाभरी मास स्क्रिनिङ गरी त्यसको रिपोर्ट नआउन्जेलसम्म त्यस इलाकाबाट कोही पनि बाहिर निस्कन र बाहिरबाट त्यस इलाका प्रवेश गर्न नदिने स्थानीय प्रशासनले जनाएको छ ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको रैपिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
त्यसको १० दिनपछि काठमाडौमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई थप उपचारका लागि घरबाट नारायणी क्षेत्रिय अस्पताल ल्याइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !