काठमाडौ, वैशाख १३ गते । मास्क र पीपीईको अभावका बेला कालोबजारी गर्ने फार्मेसीहरुलाई तीन लाख रुपैयासम्मको जरिवाना तिराइएको छ ।
सरकारी टोलीले गरेको अनुगमनको क्रममा स्वास्थ्यकर्मीले समेत प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई बढी मूल्यमा बेचिरहेको पाइएपछि केही औषधि पसलहरुलाई कारबाही गरिएको जनाइएके छ ।
काठमाडौं सुकेधारामा रहेको कालिका ट्रेडर्सले एन ९५ मास्कलाई तोकिएको मूल्यभन्दा धेरैमा बिक्री गरिहरको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमका क्रममा पाइएको थियो । अनुगमन टोलीले उक्त पसललाई उपभोक्ता संरक्षण ऐन अन्र्तगत तत्कालै ३ लाख रुपैयाँ जरिमाना गरेको जनाएको छ ।

त्यस्तै, सोही दिन अनुगमन टोलीले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजले कोरोना संक्रमणका बिरामीको उपचार तथा स्वास्थ्य परीक्षणको बेला लगाउने पीपीई सेट बढी मूल्यमा बिक्री गरिरहेको पाइएकोमा उक्त पसललाई पनि तत्कालै २ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
त्रिपुरेश्वरकै कान्तिपुर सर्जिकललाई पनि विभागको अनुगमन टोलीले २ लाख रुपैयाँ जरिमाना तिराएको छ । उसले बिल बिजक जारी नगरेको पाइएकाले काराबाही गरिएका विभागले जनाएको छ ।
विभागको टोलीले बिहीबार इमाडोल र ज्ञानेश्वर क्षेत्रका फालफूल र मासु पसलमा अनुगमन गरेको थियो । सो क्रममा ज्ञानेश्वरको राजेन्द्र मिट सपले मूल्य सूचि नराखेकाले ५० हजार रुपैयाँ जरिवाना तिर्नु परेको छ ।
त्यस्तै, इमाडोलका मुकेश जुस तथा फलफूल र कालिन्चाके खाद्य स्टोरले पनि मूल्य सूचि नराखेको पाइएकाले ५० हजारका दरले जरिमाना तिराइएको विभागले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !