काठमाडौं, वैशाख ११ गते । राजपा नेपाल र समाजवादी पार्टीको एकीकरणबाट नवगठित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भई वैद्यानिकता पाएको छ ।
मध्यरातमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भइ जनता समाजवादी पार्टी नामको नयाँ पार्टी गठन भएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि भएको सहमति पत्रमा नेताहरूले बिहीवार दल दर्ता गराएका हुन् ।

नवगठित जनता समाजवादी पार्टीको दर्ता नम्बर १३८८ रहेको समाजवादी पार्टीका एक उच्च नेताले जनाएको छ । यो नयाँ पार्टी दर्ताको पहिलो प्रक्रिया हो ।
हिजो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएकाले सहमति पत्र यसैसाथ संलग्न गरी पठाइएको छ,’ दर्ता गरिएको पत्रमा उल्लेख छ । जसमा राजपाका संयोजक शरतसिंह भण्डारी र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका हुन ।
६ सदस्यीय रहेको राजपा नेपाल अध्यक्ष मण्डल सदस्य अनिल झा र राजकिशोर यादवले सहमति पत्रमा हस्ताक्षर रहेको छैन । यी दुई नेताहरुको हस्ताक्षर नहुँदा पार्टी फुटाएर नेकपा सँग मिल्ने सम्भावना रहेको चर्चा चल्न थालेको छ ।
झा र यादवले किन हस्ताक्षर गरेको होइन भन्ने बारे राजपा नेपालका अन्य नेताहरुले यस बारे कुनै प्रतिक्रिया जनाएको छ । यस सम्बन्धमा ती दुवै नेतासँग सम्पर्क गर्न खोज्दा समाचार लेख्दासम्म सम्पर्क हुन सकेको छैन ।
दुवै मधेश केन्द्रित दलको एकताले मधेशमा नयाँ शक्ति र राष्ट्रको तेश्रो शक्तिको उदय भएको राजनीतिक विश्लेषकहरुको भनाई छ ।

मधेश केन्द्रित दलको गठबन्धन कायम रहे भने अन्य दलले मधेशमा आफ्नो अधिपत्य जनाउन नसक्ने अवस्था समेत श्रृजना गरेको विश्लेषकहरुको दाबी समेत रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !