काठमाडौ, वैशाख ३ गते । मंगलवार काठमाडौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सनसिटमा बस्ने २ सय ९६ जनामा रैपिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षण गरिएको छ ।

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट रैपिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको हो ।
ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी २ सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन ।
सनसिटीका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
उनीहरू तीनै जना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए। दुवै संक्रमितअहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !