बुटवल, वैशाख ३ गते । प्रदेश ५ प्रदेश सभाले आफूले पाएको बजेटबाट कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई सहयोग स्वरुप फिर्ता गरेको छ ।
प्रदेश सभा सचिवालयले आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको जनाइएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सभा संचालनका लागि ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेको र अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्ता गरिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जनाएको छ ।
यसअघि सभामुख पुर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब प्रदेश सभा सचिवालयले प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरेको थियो ।
त्यस्तै प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार क्रमशः ७, ५ र ३ दिनको तलब गरी एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ कटौती गरी कोषमा गरिसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !