जनकपुरधाम, वैशाख २ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन छिमेकी राष्ट्र भारतले पुनः मई ३ तारिखसम्म २१ दिनको लागि लकडाउनको अवधि थप गरेको छ ।
यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) सकिँदैछ । त्यसअघि मंगलवार बिहान प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मार्चसम्म बढाउने निर्णयमा पुगेको बताए ।

‘लकडाउनकै कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको बताउंदै उनले मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ त्यो सराहनीय रहेको भने ।
सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको उनले बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनु पर्नेमा जोड दिदैं उनले जुन क्षेत्र हटस्पट बन्ने आशंका छ, त्यहाँ कठोर कदम चाल्नुपर्छ भने ।
आगामी एक साता लकडाउनमा कठोरता अझ बढ्नेछ । जुन क्षेत्रमा आशंका कम हुन्छ, त्यो क्षेत्रहरुमा ३० अप्रिलपछि शर्तसहित केही छुट दिइनेछ समेत भने ।
भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !