वीरगञ्ज, वैशाख १ गते । आइतवार पर्साको विरगंज महानगरपालिकामा ३ जना जमाती संक्रमित भेटिएपछि शंकास्पद व्यक्तिको परीक्षणमा स्थानीय प्रशासनले तिब्रता दिइएको छ ।

सोमबार जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ सहित पर्सामा ३८ जनाको थ्रोट स्वाब संकलन गरेर पठाइएको छ । भारतीय संक्रमित जमाती व्यक्तिले मियाँलाई भेटेको हुन सक्ने आशंकामा थ्रोट स्वाब लिइएको स्थानीय प्रशासनले जनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अध्यक्ष जालिम मियाँसँगै परिवारका १९ जना, कलवार कल्याण समिति स्थित क्वारेन्टाईनमा राखिएका १० जना र सिद्धार्थ स्कुल क्वारेन्टाइनका ९ जना गरी ३८ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।

उनीहरुको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउने तयारी भइरहेको छ ।
जगरनाथपुर गाउँपालिकाबाट जमाति समूहका १५ जनालाई केही दिन अघि अध्यक्ष मियाँकै सवारीमा राखेर वीरगञ्ज ल्याइएको थियो । पर्सा, बाराबाट नियन्त्रणमा लिएका जमातीमध्ये बारा, रौतहट र सप्तरी घर भएका ३६ जनालाई घर पनि पठाइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने ‘संक्रमित व्यक्ति मुस्लिम समुदायकै जमाती हुन, जगरनाथपुर गाउँपालिकाका जालिम मियाँको गाडीमा १५ जना जमातीलाई राखेर ल्याइएको थियो’ त्यसैले थ्रोट स्वाब कलेक्सन गरेर परीक्षणका लागि पठाएका छौं । सबैलाई होम क्वारेन्टाइनमै रहन भनेका छौं ।’
संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई सिद्धार्थ स्कुल र कलवार कल्याण समितिस्थित क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिको संख्या बढ्दै गएपछि कलवार कल्याण समितिमा ५४ बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।
प्रशासनले दिएको जानकारी अनुसार १७ जना महिला सहित १ सय ३६ जना क्वारेन्टाइनमा हाल रहेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !