
जनकपुरधाम, चैत ३० गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि पुर्व तयारीका साथ विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।
पुर्व तयारी स्वरुप नगरपालिकाले आफ्नो नयाँ कार्यालय भवनमा ११ बेड सहितको सुरक्षित एवं सुविधायुक्त क्वारेन्टाइन निर्माण गरिसकेको छ । क्वारेनटाईनमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि ३५ थान पिपिई लगायतका सामाग्री व्यवस्था गरिएको मेयर योगेन्द्र पजियारले बताएका छन ।
उनले भने हालसम्म कोरोना भाइरस शंकास्पद यस पालिकामा नभेटिएपनि हामी स्थानीय सुरक्षाकर्मीको सहयोगमा पुर्वतयारी अवस्थामा छौं । कथमकदाचित शंकास्पद भेटिए भने तिनीहरुका लागि बस्ने, खाने लगायतका व्यवस्थापन हामी राखिसकेका छौं ।

मेयर पजियारले लोकपुकार सँग कुरा गर्दै भने क्वारेन्टाईन मात्रै होइन सो पालिकामा रहेका ५ वटै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुलाई कोरोना लक्षण र अन्य बिरामीको चेकजाँचका लागि खटाएका छौं, नगरवासीको स्वास्थ्य सुरक्षाका लागि हामी कुनै कसर नछोडने उद्देश्यले स्वास्थ्यकर्मीहरुलाई पिपिई र चेकजाँच सामाग्री दिएर खटाइरहेका छौं ।
सो स्वास्थ्य चौकीहरुमा दैनिक १५/२० जनाको हाराहारीमा बिरामीहरुको चेकजाँच हुँदै आएको छ जानकारी दिदैं भने हालसम्म भाइरल फिवर लगायतका बिरामी मात्र आउने गरेको ती मध्ये कोरोना शंकास्पद भेटिएको छैन ।
राहत वितरण र नगर सेनिटाइज्ड
कोरोना भाइरसको महामारी रोकथामका लागि क्षिरेश्वरनाथ नगरपालिकाको १० वटै वडालाई सेनिटाइज्ड सहित लामखुट्टे विरुद्धको औषधि छिर्काउ गरिसकिएको जानकारी समेत उनले दिए ।
यसका साथै जारी लकडाउनको क्रममा मार्कामा परेका गरीब, दलित, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने १ हजार ८ सय ५२ परिवारलाई पहिलो चरणमा चामल, दाल, सोयाबीन, आलू, नून, तेल, मुरही लगायतका खाद्यान्न सामाग्री, साबून र मास्क वितरण १० वटै वडामा घरदैलोमा पुगेर वडाहरु मार्फत वितरण गरिसकिएको उनले बताए ।
उनले भने प्रदेश सरकारले दिएको रकमबाट अपुग भएपछि पालिकाबाट थप गरेर पहिलो चरणमा राहत वितरण गरिसकिएको छ लकडाउनको अवधि बढाइयो भने पुनः दोश्रो चरणमा राहत वितरण गरिनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !