काठमाडौ, चैत २९ गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन अहिले नहटाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै लकडाउन तत्काल नहट्ने र नेपाल भारत सीमानाकामा अझै कडाइ गरिने बताए ।
उनले भावुक कुरा गरेर नहुने भन्दै लकडाउन छिट्टै अन्त्य हुने छैन, सीमानाकामा अझ कडाइ गरिने भन्दै लापरबाही स्वीकार्य हुने छैन संक्रमण फैलिनबाट सबै सचेत हुन अनिवार्य रहेको बताए ।
‘भावुक कुरा गरेर हुँदैन, लकडाउन तत्काल हट्दैन, सीमामा अझै कडाइ गरिन्छ, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म सबैमा अनुरोध गर्दछु ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्ह्वान समेत गरे। उनले सरसफाइमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह समेत गरे ।
मुख्यमन्त्रीहरुसँग नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबार जानकारी लिँदै प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको प्रधानमन्त्री ओलीले भनेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट पार्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैमा अनुरोध पनि गरे ।
उनले लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुने भन्दै मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्ने बताए। त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !