काठमाडौ, चैत २६ गते । नेपालमा कोरोना भाइरसको डेन्जर जोनमा १ सय ८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयद्वारा संचालित एप मार्फत विदेशबाट आएका व्यक्तिहरुले गरेको स्वमूल्यांकन दर्ता अनुसार हालसम्म १ सय ८५ जना रेडजोनमा रहेको देखिएको बताए ।

बुधबारमात्रै ८२९ जनाले स्वमूल्यांकन दर्ता गरेका मध्ये ३ जनालाई रेड जोनमा राखेको उनले जानकारी दिए । रेडजोनमा रहेकालाई विशेष सर्तकता र क्वारेन्टाईनमा राखि निगरानी गर्न सम्बन्धित निकायलाई मन्त्रालयले भनेको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट आएका र विभिन्न क्वारेन्टिनमा रहेका १२ हजार ६८ जनाले स्व(स्वास्थ्य मूल्यांकन दर्ता गरेका हुन ।
एपमार्फत विदेशबाट आइ विभिन्न क्वारेन्टिनमा बसेका, होम क्वारेन्टिनमा बसेका र सशंकास्पद व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुलाई आफूमा देखिएको लक्षणका आधारमा स्वमूल्यांकन दर्ता गर्न मन्त्रालयले आग्रह गरेको थियो ।
उनीहरुले स्वास्थ्य मन्त्रालयले सत्तचालन गरेको वेभपेज र एप्समा आफ्नो स्वास्थ्य विवरण दर्ता गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म विदेशबाट आएका र क्वारेन्टिन र होम क्वारेन्टिनमा बसेको १२ हजार ६८ जनाले लक्षणका आधारमा स्वमूल्यांकन दर्ता गराइसकेको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ९ सय ६५ जनाको र उपत्यका बाहिर ४ सय १ गरी २ हजार ३ सय ६६ जनाको नमूना परीक्षण गरिएको छ । उनले मन्त्रालयले परीक्षणको दायरा बढाउँदै लगेको र बुधबार १ सय ८० वटा नमूना परीक्षण भइरहेको जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !