लहान, चैत २६ गते । प्रत्येक नयाँ वर्षको अवसरमा सिरहामा लाग्ने गरेको मेला शलहेश फुलबारी मेला कोरोना भाइरसको महामारीको कारण यस वर्ष नलाग्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) महामारीको रुपमा फैलिँदै गएपछि आम जनताको स्वास्थ्यको दृष्टिगत गर्दै यस पटक नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाग्ने गरेको मेला यस वर्ष नलगाइने आयोजक समितिले जनाएको छ ।

सिरहाको लहान नगरपालिका, गोलबजार नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा लाग्दै आएको मेला आयोजना नगर्ने निर्णय गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाँइले जानकारी दिएका छन ।
कोरोना भाइरसको संक्रमण रोक्न देश नै लकडाउन रहेको अवस्थामा सिरहाको पर्यटकीय स्थलको रुपमा रहेको सलहेश फूलबारी मेलासहित जुडसितल मेला, धमनीमाई मेला र पतारी मेला नगर्ने निर्णय भएको प्रजिअ गुरागाँइले भने ।
यो स्थान लोक नायक सलहेश र वर्षको एक दिन मात्रै फूल्ने हारमको फूलका कारण प्रख्यात रहेको छ । सलहेश फूलवारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन सेतो रंगको माला आकारको फूल एक दिनका लागि फूल्ने गरेकोले यसलाई हेर्न हजारौँको संख्यामा पर्यटकहरु आउने गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !