जनकपुरधाम, चैत २३ गते । प्रदेश २ सरकारले कोरोना विरुद्धको लकडाउनको समयमा सर्वसाधारणलाई दूध र तरकारीको अभाव हुन नदिन विभिन्न योजनाहरु अघि सारेको छ ।
प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणका लागि दूध र तरकारी उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा सिमित समयावधि सहितको बजार र स्टलहरु संचालनमा ल्याएको छ ।

भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकरी संस्थाको समन्वयमा जनकपुरधामका विभिन्न स्थान सहित प्रदेशका ८ वटै जिल्लामा बिहान र बेलुका गरी दुई समयमा स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी सुपथ मूल्यमा बजार संचालनमा ल्याइएको जानकारी दिए ।
उनले लकडाउनको अवधिमा किसानहरुले उपजाएको तरकारी खराब हुन थालेपछि र आम जनतालाई हरियो सागसब्जीको आवश्यकतालाई दृष्टिगत गर्दै बुधबारदेखि जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, कदम चौक र मुरली चौकमा बिहान ६ बजेदेखि साढे ८ र बेलुका साढे ४ बजेदेखि साढे ६ बजेसम्म निश्चित समयावधिमा तरकारी बजार संचालनमा भइरहेको जानकारी दिए । जनकपुरधाम मात्रै होइन प्रदेशका अन्य जिल्लामा पनि सुपथ मूल्यको तरकारी बजार संचालन भइरहेको छ ।
यो कुनै व्यापार गर्ने नियत होइन,’ मन्त्री साहले भने, “किसानको उत्पादन खेर नजाओस् र सर्वाधारणले त्यसको उपभोग गर्न पाउन भन्नका लागि नै यो योजना ल्याइएको मन्त्री साहले बताए । तरकारी बेच्नका निम्ति मोबाइल भ्यान पनि प्रयोग गरिने मन्त्री साहले बताए । ‘मोबइल भ्यान तरकारी लिएर बस्तीहरुमा घुमाइनेछ ।
त्यस्तै दूधको अभाव हुन नदिन दूग्ध वितरण आयोजना ढल्केबरसँग समन्वय गरी किसानहरुले उत्पादन गरेको दुग्ध संकलनका लागि ३० ठाउँमा स्टल राखिएको र जनकपुरका विभिन्न स्टल मार्फत नै समाजिक दूरी कायम गरी भइरहेको मन्त्री साहले जानकारी दिए ।
मन्त्री साहले लकडाउनका कारण दूध बिक्री नभएपछि किसान समस्यामा परेको बताउंदै उनीहरुको समस्या समाधानका लागि दुग्ध विक्रीका लागि स्टलहरुको व्यवस्था गरिएको बताए । यसका निम्ति पनि बिहान ६ देखि ८ः३० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म दूधका स्टलहरु संचालनमा रहेको छ ।
यसका साथै मन्त्री साहले गेहुँ तथा दलहनवाली कटानी गर्न हार्भेष्टर तथा थ्रेसर मेसिन तथा चैते धान रौपाईमा प्रयोग हुने मेसिन, ज्यामी तथा मजदुरहरुको प्रयोग समाजिक दुरी कायम गरि गर्न गराउन किसानहरुसँग अनुरोध गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !