जनकपुरधाम, चैत २० गते । भारतको दिल्लीस्थित मुस्लिम समुदायको निजामुद्दीनस्थित मरकजको जमातबाट फर्केको आशंकामा पर्सा, बाराबाट ११/११ र सप्तरीबाट ६ जना गरी २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएको बेला भारतको दिल्लीमा आयोजित जमातीबाट फर्केका ११ जनालालाई बारा जिल्लाको बिश्रामपुर गाउपालिका वडा नम्बर २ स्थित कान्तिपुर नाकाबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका सबैजनालाई सोधपुछ गर्दा आफूहरु भारतमा जमातीमा भाग लिएर फर्किरहेको भनेर जवाफ दिएको मिश्र दाबी गरेका छन । उनीहरुलाई बिरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सिद्धार्थ माध्यमिक बिधालयमा बनाइएको क्वारेन्टाईनमा पठाइएको जिप्रका बाराले जनाएको छ ।
त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट पनि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट फर्केको आशँकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई सिद्धार्थ माबिमा बनाइएको क्वारेन्टाईनमा पठाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन ।
यसअघि सप्तरीबाट प्रहरीले जमातबाट फर्केर लुकेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार राजविराज नगरपालिकाको बिभिन्न वडाबाट उनीहरुलाई घरबाट नियन्त्रण लिई क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए ।
फेला परेकामध्ये दुई जना सप्तरीका ठूला व्यापारी रहेका छन् । उनीहरु केहि दिनअघि दिल्लीबाट फर्किएको जानकारीको आधारमा फेला पारिएको उनले बताए ।
प्रहरीले ६ जनालाई मात्रै फेला पारेपनि सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुश्लिम धार्मिक सभा सकिए लगत्तै मुश्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए ।
दिल्लीको निजामुद्दीनमा आयोजना गरिएको जमातका सहभागीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र कतिपयको मृत्यु समेत भएको छ । यो जमातमा नेपाली पनि सहभागी भएको पाइएपछि नेपाल प्रहरीले देशभरी तिनीहरुको खोजीकार्य तिव्र पारेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !