जनकपुरधाम, चैत १९ गते ।प्रदेश २ सरकारले बिरामी चेकजाँच नगर्ने स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने आदेशप्रति नेपाल चिकित्सक संघले निन्दा र घोर भत्र्सना गरेको छ ।
संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारीले कोरोना भाइरसको संक्रमणको लागि अहोरात खटिरहेका चिकित्सकको बैठक बसिरहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने र थुनामा राख्ने दिएको आदेशप्रति निन्दा र भत्र्सना गरेको छ ।

संघले संक्रमित बिरामीहरुको उपचारको क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले लगाउनुपर्ने एन ९५ मास्क जस्ता सुरक्षाका सामाग्री उपलब्ध गराउनुको सट्टा कारवाही गर्ने मुख्यमन्त्री राउतको आदेश निन्दनीय रहेको भनेको छ ।
विश्वस्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सीलले जारी गरेको निर्देशिका अनुरुप आफ्नो ज्यानको बाजी लगाएर संक्रमण रोकथामका लागि अतुलनिय योगदान पुरयाइ रहेका चिकित्सकहरुलाई यस्तो प्रकारको अमानवीय क्रियाकलाप न्यायोचित नरहेको र यसले डरलाग्दो महामारीसँग जुध्नका लाग कुनैपनि स्वास्थ्यकर्मी तथा चिकित्सकको मनोबल गिराउने जस्ता अभिव्यक्ति दिनु अत्यन्तै निन्दनीय रहेको विज्ञप्तिमा भनिएको छ ।
साथै सुरक्षा सामाग्री बिना स्वास्थ्यकर्मी तथा चिकित्सकहरु खटिरहेको हुनाले उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउनु एवं स्वास्थ्य सेवाग्राहीलाई समेत संक्रमण हुन जाने भएकोले सरोकारवालाले कोरोना भाइरस संक्रमणको गम्भीरतालाई मनन गरी सामाग्री उपलब्ध गराउन र निर्देशन दिन अनुरोध पनि गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !