काठमाडौ, चैत १९ गते । कोरोना भाइरस विरुद्धको मेडिकल सामाग्री बजार दर भन्दा चारदेखि ४५ गुणासम्म महंगोमा खरिद गरेको आरोप सहित स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी परेको छ ।
विवेकशील नेपाली दलका बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वास्थ्य मन्त्री विरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका Rapid test kits सात करोडभन्दा बढीको लागतमा किनेको भन्दै छानबिन गर्न आग्रह गरिएको छ ।
उजुरीमा तीन महिनाअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको आरोप रहेको छ ।
साथै मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको, वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका Rapid test kits सात करोड भन्दा बढीको लागतमा किनेको आरोप समेत लगाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !