जनकपुरधाम, चैत १८ गते । कोरोना भाइरस संक्रमण आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका २ बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतको जयपुर, अम्बालाबाट फर्केका धनुषाको औरही र जनकपुर स्थानीय एकजना सहित दुई जनालाई प्रादेशिक अस्पतालमा ज्वरो र रुघाखोंकी सहितको कोरोनाको लक्षण देखिएपछि आइसोलेशनमा शनिवार भर्ना गरिएको थियो ।
दुवैजनाको स्वाल्ब परीक्षणको लागि आइतबार नै काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । मंगलवार दुवैजनाको रिपोर्ट निगेटिभ आएको हो । रिर्पोट निगेटिभ आएपछि दुवैजनालाई डिस्चार्ज गरिएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्ट डा. नागेन्द्र यादवले जानकारी दिएका छन ।

आइतबारदेखि प्रादेशिक अस्पताल जनकपुरधाममा इमरजेन्सी सेवा बाहेक सबै सेवालाई मर्ज गरी कोरोना भाइरस लक्षणको उपचारका लागि भाइरल फिवर क्लिनिकको रुपमा संचालन गर्दै आएको हो ।
शंकास्पद बिरामीलाई राखेर उपचार गर्न ७ वटा बेडसहितको आसोलेशन वार्ड र कोरोना संक्रमित बिरामीलाई उपचार गर्न ५ बेडको अर्को वार्ड तयार गरिएको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले भने ।
भाइरल फिवर क्लिनिक संचालन भएको दिन आइतबार नै आइसोलेशन वार्डमा ६ जना कोरोना शंकास्पद बिरामी भर्ना भएका थिए । जसमा ४ जना समान्य रुघाखोकी लागेको र कोरोनाको लक्षण नदेखिएपछि सोमबार नै डिस्चार्ज गरिएको छ ।
मंगलबार पुनः आइसोलेशनमा भर्ना गरिएका ४ जना कोरोना संक्रमित शंकास्पद बिरामी स्वाल्ब परीक्षणको लागि बुधबार काठमाडौं पठाइने मेसु यादवले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !