जनकपुरधाम, चैत १८ । सामान्य ज्वरो रुघाखोकी बिरामी चेकजाँच र उपचार नगर्ने चिकित्सक तथा अस्पतालहरुलाई प्रदेश २ सरकारले कारवाही गर्ने भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भइरहेको गतिविधि बारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित निकाय सहितको बोलाएको बैठकमा कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदैं बिरामी चेकजाँच नगर्ने चिकित्सक र अस्पताललाई कारवाही गर्ने भने ।
विभिन्न अस्पतालमा चिकित्सकहरुले सामान्य ज्वरो, रुघाखोकी लागेका बिरामीलाई उपचार गर्न नमोनको गुनासो आइरहेको बेला मुख्यमन्त्री राउतले सम्बन्धित सबै निकायलाई बैठकमा बोलाएर त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।
मुख्यमन्त्री राउतले राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्ससम्म खारेजी गर्ने सहितको कारवाही गर्ने भने ।
यसका साथै उनले वर्तमान संक्रमणकालिन अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन समेत दिए । महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिदैं मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजना बारे जानकारी गराउनु भएको थियो ।
बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !