जनकपुरधाम, चैत १७ गते । मिथिलाञ्चलको पर्व चैती छठ जनकपुर लगायत मिथिलाका विभिन्न स्थानमा कोरोना भाइरसको त्रासले आज घरमै मनाइदै छ ।
शनिबारदेखि सुरु भएको चैती छठको तेश्रो दिन आज साँझपखको अर्घदान हो । सँझुका घाट भनिने साँझ पखको अर्घदान पोखरी तलाउको घाटमै गइ मनाइने गरिन्छ । तर स्थानीय प्रशासनले कोरोनाको नियन्त्रणका लागि जारी लकडाउनको पालना गर्न घरमै मनाउन भनेको छ ।
आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने भोली बिहान मंगलबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ । तर दुवै दिन पोखरी वा तलाउको घाटमा नभई श्रद्धालुहरुले आ आफ्नो घरमै मनाउने भएको छ ।
अन्य वर्षमा जनकपुरधामको सरोवर किनारहरुमा हर्साेल्लासपूर्वक मनाइने छठपर्व यसवर्ष लकडाउनको कारण प्रभावित पारेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनमा कुनैपनि सार्वजनिक स्थान वा फोखरीमा नमनाउन आग्रह गरेको थियो ।
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जारी गरेको उक्त विज्ञप्तीमा चैती छठ पूजामा पर्न गएको पीडाप्रति क्षमा समेत मागिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !