जनकपुरधाम, चैत १५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको तयारी उच्च जोखिममा रहेका प्रदेश २ मा उपचार सामाग्रीको आभावमा सुस्त गतिमा देखिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरणहरु उपलब्ध गराउन नसकेपछि प्रादेशिक अस्पतालमा कोरोना शंकास्पद बिरामीको स्वास्थ्य जाँच हुन सकेको छैन । शंकास्पद बिरामीहरु अस्पतालसम्म पुग्दा उनीहरुलाई कुनै जाँचै नगरी रेफर गर्ने गरिएको छ ।

प्रदेशस्तरमा आइसोलेशन र क्वारेन्टाईनको व्यवस्था गरिएपनि उपचार चेकजाँच सामाग्री आभावमा शंकास्पदको चेकजाँचमा समस्या देखिएको छ । स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउन, थर्मल गन, पिपिई लगायतका सामग्रीहरु स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुन गराउन नसकेको कारण अन्य उपचार समेत प्रभावित भएको देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले हालसम्म कोरोना संक्रमित बिरामी फेला नपरेपनि उपचारका लागि विरगंजस्थित नेशनल मेडिकल कलेजमा ५०, प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पतालमा ५ बेड सहितको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिएका छन ।
यसअघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेजमा ६० र सिटी अस्पतालमा २० बेडको आइसोलेशन वार्ड तयार रहेको भनेको थियो तर विभिन्न कारण देखाई यता आएर आइसोलेशन वार्ड तयार गर्न नसकेको गुनासो झाले गरे ।
प्रदेशमा ७५ क्वारेन्टाइन तयार
शनिवारसम्म प्रदेश सरकारले धनुषा, सिरहा, सप्तरी र पर्सा लगायतका जिल्लाहरुमा अहिलेसम्म १२९२ बेड सहितको ७५ वटा क्वारेन्टाइन तयारी अबस्थामा राखेको झाले दाबी गरेका छन ।

उनका अनुसार धनुषाको नगराईन नगरपालिकास्थित मिथिला आयुर्वेद कलेजमा सय बेड, वीरगन्जस्थित डेन्टल केडियामा ५० र सप्तरीस्थित साई कृष्ण अस्पतालमा ५० बेडको क्वारेन्टाइन तयारी अबस्थामा रहेको छ भने जिल्लाहरु समेत थप क्वारेन्टाईन रहेको जानकारी दिए ।
वीरगञ्जस्थित १ हजार ५० बेडको नेशनल मेडिकल कलेजले आफ्नो सबै कोठाहरु क्वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराएको अधिकृत झाले बताए ।
हुनत प्रदेशमा यतिको संख्यामा क्वारेन्टाईन तयार रहेको दाबी गरिदै आएको छ तर ती सबै सुविधाविहिन रहेको गुनासो आइरहेको छ । ती क्वारेन्टाईनहरुले सरकारले निर्धारण गरेको मापदण्ड पुरा समेत नगरेको बुझिएको छ ।
२ सय २२ जना क्वारेन्टाइनमा
झाले दिएको जानकारी अनुसार प्रदेश २ मा कोरोनाको आंशकामा शनिवारसम्म २ सय २२ जनालाई विभिन्न क्वारेन्टाइनमा र ४२ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ ।
उनका अनुसार सप्तरीमा १ सय २२, सिरहामा १५, धनुषामा ११, सर्लाही र बारामा २/२, रौतहटमा ६५ र पर्सामा १५ जना सहित शंकास्पद व्यक्ति विभिन्न क्वारेन्टाईनमा रहेको छ जस मध्ये कतेको व्यक्ति उपचार गराएर निको भई फर्किपनि सकेको छ । कतार, मलेसिया र भारतका विभिन्न शहरमा रोजगारी गरी फर्केकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले जानकारी दिए ।
३ जनाको रिजल्ट नेगेटिभ
प्रदेश २ मा कोरोनाका ३ जना शंकास्पद विरामीको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएकोमा सबैको रिजल्ट नेगेटिभ आएको जानकारी समेत स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजयकुमार झाले दिएका छन् ।
अस्पतालहरुलाई पिपिई उपलब्ध
कोरोना संक्रमितको चेकजाँच उपचारका लागि पिपिईको आभाव रहेको बेला अब उपलब्ध गराउन लागिएको छ । चौधरी ग्रुपद्वारा प्रदेश २ सरकारलाई सहयोग गरिएको ६० वटा पिपिई विभिन्न जिल्ला अस्पताललाई उपलब्ध गराइएको छ ।
झाका अनुसार कोरोना संक्रमित वा संकास्पदलाई चेकजाँच र उपचारका लागि महत्वपूर्ण अर्थात सुरक्षा कवचको रुपमा रहेको पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) जिल्ला अस्पताल सिरहा, महोत्तरी, सर्लाहीलाई ५/५, प्रादेशिक अस्पताल जनकपुर र सगरमाथा अस्पताल सप्तरीलाई १०/१० वटाको दरले उपलब्ध गराइएको भने बाँकी उपचारका लागि स्टोक राखिएको छ ।

पिसिआर मेशिन ल्याउने तयारी
कोरोनाको पोजेटिभ नेगेटिभ केश छुट्याउने रियलटाईम पिसिआर मेशिन जनकपुरमै ल्याउने तयारी भईरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले जानकारी दिए । उनले कोरोना संक्रमितहरुको रिजल्ट पत्ता लगाउन कठिनाई भईरहेको अबस्थामा प्रदेश सरकारसँग समन्वय गरि सो मेशिन जनकपुरमै ल्याउन आफुहरुले तयारी गरिरहेको बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !