जनकपुरधाम, चैत १५ गते । कोरोना भाइरसको उच्च जोखिमको रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनको फाइदा उठाउंदै मास्क, ग्लब्स र सेरेलेक्स कालोबजारी गर्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारद्वारा जारी लक डाउनको क्रममा शनिवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुगमन टोलीले मास्क, ग्लब्स र सेरेलेक्स तोकिएको मूल्यभन्दा बढी दररेटमा बचेको आरोपमा तिनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
जिप्रका धनुषाले जनाए अनुसार प्रहरी टोलीले प्रादेशिक अस्पताल जनकपुर स्थित बजरंग जेनरल स्टोरका संचालक राजेशकुमार झालाई मास्क प्रति पिस ७ सय ५० र गल्वस प्रति पोका ५ सयको दरले बेचिरहेको अवस्थामा पक्राउ गरेको छ । उनलाई मास्क र ग्लब्स सहित नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाईको जनाइएको छ ।
यसैबीच शनिवार सांझ थापा चौक स्थित भरत कुमार साह नामको एक औषधि व्यवसायी सेरेलेक्स दोब्बर मूल्यमा बेचेको आरोपमा पक्राउ परेको छ ।
प्राप्त जानकारी अनुसार ३ सय ५२ पर्ने सेरेलेक्सको उनले ६ सय रुपैयामा बेचिरहेको थियो । उनलाई पनि नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !