विरगंज, चैत १४ गते । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ ।
शुक्रवार भएको गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ भने सेनातर्फ सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएको छ ।

करिब ११ जनाको समूहले निकुञ्जको मुख्य क्षेत्रमा सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक शिकारीको मृत्यु हुन गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जनाएको छ ।
श्रेष्ठका अनुसार बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो ।
सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको थियो । जसमा जमदार छन्त्याल घाइते भयो र शिकारी समूहका एक जनाको मृत्यु भएको श्रेष्ठले भन्दै अन्य व्यक्तिहरु बन्दोबस्ती सहितको हतियारहरु छाडेर फरार भएको बताए ।
निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ समेत गरेको उनले बताए । घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !