
मलंगवा, चैत १४ गते । सर्लाहीको एक इँटा भट्टामा १६ जना कामदारलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।
जिल्लाको हरिवन नगरपालिका ९ स्थित दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने ती कामदारहरुमा उच्च ज्वरो देखिएपछि क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

करीब तीन दिनदेखि १००.४ डिग्री भन्दा उच्च ज्वरो उनीहरुलाई लगातार आइरहेको देखिएपछि कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा पठाइएको वडाध्यक्ष सिताराम पोखरलले बताएका छन ।
ज्वरो कम नभएपछि बिहीवारमात्र स्थ्यकर्मीको टोली दुवै इँटा भट्टामा पुगेर उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । अधिकांश कामदार भारतकै रहेको र संक्रमित आशंका देखिएकाहरु एक साता अघि नै भारतबाट कामका लागि यहाँ आएको कारण कोरोना भाइरस हुन सक्ने आशंका गरिदै आएको छ ।
गाँउ नजिकै रहेको इँटा भट्टाका मजदुरलाई उच्च ज्वरो देखिएपछि स्थानीय अहिले थप त्रसित भएका छन् । भट्टा नजिकै निर्माण भैरहेको खानेपानी ट्याङकी बनाउने मजदुरमा समेत ज्वरो देखिएपछि उनीहरुलाई समेत त्यही क्वरेन्टीनमा राखिएको बुझिएको छ ।
दुवै इँटा भट्टामा गरी ३ सयभन्दा बढी मजदुर काम गरिरहेका छन भने खानेपानीको ट्याङकी बनाउन १३ जना मजदुर काम गर्दै आएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !