जनकपुरधाम, तिव्र गतिकै कारण दुर्घटना भइरहेको भन्दै त्यसको न्यूनीकरणका लागि प्रदेश ट्राफिक कार्यालयले सवारी साधनलाई टाईम कार्ड लागू गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा गुड्ने लामो दुरीका यात्रुबाहक बस, कार, ट्रक, टिपर, पिकअप लगायतको सवारीसाधनलाई शुक्रबारदेखि ट्राफिक प्रहरीले टाइमकार्ड लागु गरेको छ ।
तिव्रगतिकै कारण अधिकांश दुर्घटना हुने गरेकाले त्यस्ता सवारीसाधनको गतिमाथि लगाम कस्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले टाइमकार्डको प्रावधान ल्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए ।
प्रदेश २ को आठवटै जिल्लामा शुक्रबार ट्राफिक प्रहरीले छुट्टाछुट्टै कार्यक्रम गरी टाइमकार्ड लागु गरेको छ । सिरहाको लहानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले एक कार्यक्रम आयोजना गरी टाइमकार्ड लागु गरिएको सिरहा ट्राफिक प्रहरी प्रमुख खगेन्द्र एक्टेनले जानकारी दिएका छन ।
प्रदेशका ८ वटै जिल्लाका ट्राफिक कार्यालयले टाइम कार्ड लागू गरेको छ । टाईम कार्ड चेकजाँच डेस्क सप्तरीदेखि पर्सासम्म राखिएको छ । प्रदेश ट्राफिकका अनुसार सप्तरीको भारदह, सिरहाको लहान, धनुषाको लालगढ, सर्लाहीको कर्मैया र बाराको पथलैयामा टाईमकार्ड चेकजाँच डेस्क राखिएको छ ।
टाईमकार्ड : कति दुरी कति समयमा ?
सप्तरीको भारदहदेखि सम्भुनाथसम्म ३२ किलोमिटर ४२ मिनेट, सम्भुनाथदेखि सिरहाको लहानसम्म २५ किलोमिटर ३३ मिनेट, लहानदेखि सिरहाकै बन्दीपुरसम्म ४० किलोमिटर ५२ मिनेट तोकिएको जनाइएको छ ।
त्यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटर ३८ मिनेट, लालगढदेखि सर्लाहीको कर्मैया ५० किलोमिटर १ घण्टा, कर्मैयादेखि बाराको निजगढसम्म ३१ किलोमिटर ४५ मिनेट, निजगढदेखि पथलैया २१ किलोमिटर ३० मिनेट र पथलैयादेखि अमलेखगञ्ज ८ किलोमिटर १२ मिनेट सवारीसाधनले पार गर्नुपर्ने तालिक निर्धारण गरिएको छ ।
धनुषाको ललागढदेखि पृथ्वी राजर्गाको सिन्धुलीको भिमानसम्म २२ किलोमिटर ३५ मिनेट निर्धारण गरिएको कुरा टाइमकार्डमा भनिएको छ ।
यसका साथै तिव्रगतिमा गाडी चलाउन नपाउने र सवारी चलाउँदा मोबाइल प्रयोग नगर्ने, सीटभन्दा बढी यात्रु नबोक्ने, सडकमा जथाभावी पार्किंग र जेब्राक्रश गर्न नपाइने, आभरटेक नगर्ने, बिलबुक तथा लाइसेन्स अनिवार्य रुपमा साथमा राख्नुपर्ने र चालकले ज्याकेट लगाउनुपर्ने लगायतका कुरा समेत टाईमकार्डमा लागू गरिएको छ ।
ट्राफिक प्रहरीले टाइमकार्डसंगै लागु गरेको नियम पालना नगर्ने सवारी चालकलाई ट्राफिक नियम अनुसार कारबाही हुने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !