जनकपुरधाम, लामो समय पश्चात गोप्य मतदानबाट पनि प्रदेश २ को नाम र स्थायी राजधानी टुग्याउन सकिएन ।
नामाकरणका ४ र राजधानीका लागि ३ प्रस्ताव गरिएको कुनैपनि पक्षले दुई तिहाई मत ल्याउन सकेन । राजधानी जनकपुरधामका लागि विशेष अध्ययन समितिबाट सर्वसम्मति भएपनि गोप्य मतदानमा गएर असफल भएको छ ।
मंगरवार अबेर रातिसम्म भएको मतदानबाट राजधानीको विषयमा जनकपुरधामले मात्र ५२ मत पक्षमा ल्याउन सके भने विरगंजले ३७ र विरगंज सहितका सिम्रौनगढ र निजगढले ३३ मत ल्याए । जनकपुरधाम राजधानीको पक्षमा मतदान हुन्छ भन्नेमा सबै ढुक्क थिए तर मधेश प्रदेश नामको पक्षमा बहुमत नआएपछि सत्तारुढ दलबाटै मत परेन ।
यसअघि प्रदेशको नामका लागि भएको मतदानमा प्रस्तावित प्रतिपक्षी नेकपाको जानकीले ३७, कांग्रेसको २८, असन्तुष्ट सांसदहरुको मध्य मधेश ४२ र मधेश प्रदेशले ६० मत पक्षमा ल्याएका थिए । कुनै प्रस्तावमा दुई तिहाई मत नआउंदा प्रस्ताव स्वतः अस्वीकृत हुन गएको हो । कुनैपनि प्रस्तावमा दुई तिहाई मत नआएपछि पुनः प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्य मतदान सहितका अर्को चरणको प्रक्रियामा जानेछ ।
प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !